विराटनगर, ७ फागुन । नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) ले बुधबार विराटनगरमा जगन्नाथ रथयात्रा निकालेको छ । इस्कोनले विराटनगरमा दोस्रो पटक जगन्नाथ रथयात्रा निकालेको हो ।
यस अघि इस्कोनले २०८० फागुन ७ गते विराटनगरमा पहिलो रथयात्रा निकालेको थियो । इस्कोन विराटनगरका सचिव भानुभक्त जोशीका अनुसार दोस्रो जगन्नाथ रथयात्रामा ३ हजार ५ सय भन्दा बढी सनातन धर्मावलम्बीहरूको सहभागिता रहेको थियो । विराटनगरमा निकालिएको रथयात्रा धरानबाट ल्याईएको उनले जानकारी दिए ।
इस्कोन नेपालको मार्ग निर्देशक महाविष्णु स्वामी महाराजको उपस्थितिमा निकालिएको रथयात्रामा भारत, थाइल्यान्ड, रुससहित विश्वका १० देशका ४० जनाभन्दा बढी विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको उनले जानकारी दिए । उनले भने, ‘कोशी प्रदेशका सभामुख अम्मरबहादुर बिष्टसहित सनातन हिन्दू धर्मसँग आस्था राख्ने विभिन्न राजनैतिक दलका नेता र सांसदहरूको सहभागितामा रथयात्रा निकालिएको छ ।’
विराटनगर–९ जलजला रोड स्थित इस्कोनको कार्यालयबाट निकालिने रथयात्रा विराटनगर नगर क्षेत्रको विभिन्न भागको परिक्रमा पछि पुनः इस्कोन कार्यालय अगाडि विशेष समारोहको आयोजना पछि समापन भएको छ । रथयात्रा पछि इस्कोन विराटनगरले जलजला रोडमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । एसिया, युरोपसहित विश्वका १० देश र नेपालका गरी ३ हजार ५ सय भन्दा बढी सनातन हिन्दू धर्मावलम्बीहरूको सांस्कृतिक कार्यक्रममा सहभागिता रहेको पनि जोशीले बताए ।
२०४७ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको इस्कोनको देशको विभिन्न जिल्लामा शाखा कार्यालय सञ्चालन भइरहेको जनाईएको छ । इस्कोनले विराटनगरमा दोस्रो पटक जगन्नाथ रथयात्रा निकालेको हो ।