विराटनगर, १६ चैत । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा कृषि औजार कारखाना वीरगञ्ज संचालनका अभियन्ता डा. महावीर पुनलाई विष्णुमाया पुस्तकालयले सम्मान गरेको छ ।
पुस्तकालयले एक कार्यक्रमको आयोजना गरी डा पुनलाई शनिबार सम्मान गरेको हो ।
उनलाई पुस्तकालयका अध्यक्ष केशवप्रसाद गौतमले माला लगाएर स्वागत एवं सम्मान गर्नु भएको थियो । उहाँको निस्वार्थ सेवा र पवित्र भावनाबाट अभिप्रेरित सामाजिक सचेतना अभियानलाई सहयोग पुगोस् भनेर विष्णुमाया सामुदायिक भवनमा उहाँलाई निःशुल्क खानेबस्ने व्यवस्था गरिएको अध्यक्ष गौतमले बताउनु भयो ।
सम्मानपछि डा. पुनले पुस्तकालयप्रति आभार व्यक्त गर्दै सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले भने मैले वीरगञ्जमा कृषि कारखाना संचालन गर्न अरु कुनै उपाय नभएपछि आफैले लेखेको पुस्तक बिक्री गरेर रकम संकलन गर्ने काम गरे हुँ । मैले किताब बेचेर आफू धनी बन्न नभई नेपाली किसानलाई सस्तो दरमा कृषि औजार उपलव्ध गराउने र उनीहरुको दुःखमा साथ दिने उद्देश्य राखेको उहाँको कथन थियो ।
सम्मान कार्यक्रमपश्चात डा. पुनद्वारा लिखित सम्झना, सपना र अविरल यात्रा नामको १०० थानभन्दा बढी पुस्तकहरु बिक्री भएको पुस्तकालय कार्यसमितिका सदस्य एवं कार्यक्रमका उद्घोषक डा. चन्द्र उपाध्यायले जानकारी दिनुभयो ।
यसैक्रममा मोरङ सुनवर्सी नपा–३ का नारायण जोशीले आफ्नो एक महिनाको पेन्सन बराबरको रकमबाट पुस्तक खरिद गर्नु भएको थियो । उहाँले खरिद गरिएको किताब विद्यार्थीलाई निःशुल्क उपलव्ध गराउने जानकारी दिनुभयो । त्यस्तै रंगेली नगरपालिका–३ का दलबहादुर काफ्लेले १२ वटा किताब खरिद गरेर ११ वटा विष्णुमाया पुस्तकालयलाई निःशुल्क हस्तान्तरण गरेका छन् । कार्यक्रममा उपस्थित धेरै जनाले एकभन्दा बढी किताब खरिद गर्नु भएको थियो । किताब खरिदसँगसँगै धेरैले डा. पुनसँग तस्वीर खिचाएका थिए ।