विराटनगर, १९ कार्तिक । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रदेशमा आसत्र निर्वाचन शान्तिपूर्ण, निश्पक्ष र भयरहित वातावारणमा सम्पन्न गर्न प्रशासन, सुरक्षा निकाय सक्षम र सवल हुने बताउनु भयो ।
गृह मन्त्रालय, प्रदेश नं. १ आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा शनिबार आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी–२०७९ को उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले निर्वाचन स्वच्छ वातावरणमा सम्पन्न आवश्यक पर्ने साधन श्रोत उपलव्ध गराउन निर्देशन दिएको जानकारी दिनुभयो ।
मन्त्री कार्कीले निर्वाचनमा मुख्यरुपमा सूचना संकलन, सम्वाद, निर्णय र कार्यान्वयन महत्वपूर्ण रहेको छ भन्दै यसको अधिकतम प्रयोग गरेर भयरहित वातावरण एवं सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई आग्रह गर्नुभयो ।
उहाँले निर्वाचन जनप्रतिनिधि छान्ने विधि र प्रकिया भएको हो भन्दै शान्ति सुरक्षामा कुनै किसिमको सम्झौता नगरी द्वन्द्व व्यवस्थापनमा राजनीतिक वृत्तमा संवादसहितको समाधान खोजेमा बल प्रयोगबाट जोगिने धारणा राख्नु भयो ।
गृहमन्त्रालयका प्रवक्ता तथा सुरक्षा तथा समन्वय महाशखाका प्रमुख फणिन्द्रमणि पोखरेलले निर्वाचनमा जिल्लाका प्रशासन प्रमुख र सुरक्षा निकायका प्रमुखको सुरक्षाका सम्बन्धमा एउटै आवाज हुनुपर्नेमा जोड दिंदै निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी जम्मा दुई लाख ९८ हजार ५७९ खट्ने जानकारी दिनु भयो ।
आन्तिरिक मामिला तथा कानुन मन्त्रालय सचिव उमेश बस्नेतले आसत्र निर्वाचनमा मतदातालाई सुरक्षाको अनुभुति दिलाउन सुरक्षा निकायको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनु भयो ।
गोष्ठीमा सुरक्षा व्यवस्थापन भएका चुनौतिहरुको विषयहरु धेरै उम्मेदवार हुँदा उनीहरुको सुरक्षा व्यवस्थापनमा जटिलता, सीमित जनशक्ति र अपर्याप्त स्रोत साधनको परिचालनमा कठिनाई, अपर्याप्त ढुवानी रकमका कारण अन्य निकायको समन्वयमा साधनको व्यवस्थानमा कठिन, मतदान अधिकृतलगायत जनशक्ति खटाउन प्रायः न्याय सेवा का कर्मचारी मात्र संलग्न हुँदा सुरक्षा संवेदनशीलता र कर्मचारीको दक्षता र समन्वय सीपबीच तादाम्यता मिलाउने, भौगोलिक रुपमा ठूला र विकट पालिकाहरुमा योजना बमोजिम मोवाइल टोलीले सबै मतदान स्थल र मतदातको सुरक्षा कायम गर्ने विषयमा छलफल गरिने छ ।
यसैगरी निर्वाचन आचार संहिता पालना गराउने सम्वन्धमा, सुरक्षाकर्मीको आवश्यक पर्ने हातहतियार, सञ्चार साधन, सवारी साधन अपर्याप्तता, अन्तर्राष्ट्रिय सीमा जोडिएका जिल्लाहरुमा अवैध हातहतियार तथा विष्फोटक पदार्थ ओसार पसार तथा सीमामा हुने घुसपैठ, निर्वाचन विरोधी क्रियाकलाप गर्ने राजनीतिक दल तथा भूमिगत सशस्त्र तथा साम्प्रदायिक समूहको गतिविधि, निर्वाचनको समयमा निर्वाचन विरोध समूह र आर्थिक लाभको लागि सिर्जना भएका समूहहरु, अन्तरपार्टी अस्वस्थ प्रतिस्पर्धा कारण सिर्जित मुठभेड तथा झडपको अवस्थालगायतका विषयमा छलफल भै निश्कर्ष निकालिने छ ।
गोष्ठीमा निर्वाचन आचारसंहिता पालना गराउनमा प्रमुख जिल्ला अधिकारीको भूमिका र निर्वाचन सुरक्षा व्यवस्थापनमा भएका सवल पक्षका विषयमा छलफल हुने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनु भयो ।
गोष्ठीमा प्रदेशका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सुरक्षाका सम्वन्धमा आफ्नो जिल्लाको बस्तुस्थितिबारे प्रस्तुति दिनु हुने छ ।
गोष्ठीमा गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंह, प्रदेशका निमित्त प्रमुख सचिव किशोरकुमार चौधरी, नेपाली सेनाका बलाधिकृत विभागका रथी सरोज प्रताप राणा, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका पूर्वी पृतनापति उपरथी सहदेव खडका, गृह मन्त्रालयका सचिव एवं विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदिपकुमार कोइराला र प्रदेशका चार सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको छ ।