विराटनगर, २० मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गठबन्धनको नेतृत्वमा आगामी सरकार निर्माण हुनेमा ढुक्क हुन आग्रह गर्नु भएको छ ।
नेकां महानगर समितिद्वारा मंगलबार विराटनगरमा आयोजित नेका नेता गुरुराज घिमिरेद्वारा लिखित पुस्तक ‘बाटो बिराएको राजनीति’ पुस्तकको विमोचन गर्दै उहाँले आगामी सरकारले जनताले चाहेको सुशासन, भ्रष्टाचारको अन्त्य, विकास र समृद्धि पुरा गर्नुपर्ने जस्ता चुनौती रहेको धारणा राख्नु भयो ।
नेता कोइरालाले भन्नु भयो ‘इतिहास रचेको नेका पार्टीको शाख र विचार आगामी दिनमा जोगाउन र राजनीतिलाई सही बाटोमा लग्ने जिम्मा युवा पुस्तामा हस्तान्तरण गर्नुपर्नेे छ’ । नेता कोइरालाले कुनै विवाद बिना एक ढिक्काभै पार्टीलाई पुरानो अवस्थामा फर्काउने काम गरेर देखाउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।
उहाँले निर्वाचनमा नेकाले प्राप्त सिट संख्या वृद्धि भएपनि सात प्रतिशत मत घटेकोमा गम्भिर हुनुपर्छ भन्दै यसका लागि स्वतन्त्र एक छानवीन समिति गठन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकाका महामन्त्री गगन थापाले नकाको नेतृत्वमा निर्माण हुने आगामी सरकारले सही ढंगबाट मुलुक संचालन गरेर लाखौं गुमाएको जनताको मत र नयाँ मतदातालाई समेत आकर्षित गर्नुपर्ने बताउनु भयो । उहाँले सरकार संचालन गर्दा पूर्वाधार, शिक्षा, विकास, निर्माण, स्वास्थ्य, रोजगारी सिर्जना सम्वन्धी काम गरेर जनताको मत जित्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले आगामी सरकार निर्माण गर्दा नेतृत्वले जनता समक्ष स्पष्टता, प्रतिवद्धता जनाउनु पर्ने धारणा राख्दै पार्टीप्रति जनताको आकर्षण बढाउन मुलुकमा सुशासन, परिणाममुखी काम गर्नुपर्ने विचार राख्नु भयो । नेता थापाले पार्टीले पाएको ऐतिहासिक मौकाको सही ठाउँमा प्रयोग गरेर लोकतन्त्रलाई संस्थागत, देशप्रतिप्रति जिम्मेबार भै समर्पित भै ‘बाटो सुधाएिको राजनीति’ निर्माण गर्नुपर्ने बताउनु भयो ।
प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले राजनीतिक नेतृत्वले जनतालाई जे गर्न सक्ने हो त्यो बोल्न आग्रह गर्नुभयो ।
नेकाका नेता एवं नव निर्वाचित प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले सरकारको नेतृत्वले आगामी पाँच बर्षभित्र गर्ने कार्यको दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताउनु भयो ।
नव निर्वाचित मोरङका प्रतिनिधि सभा सदस्यद्वय अमनलाल मोदी र योगेन्द्र मण्डल, प्रदेश सभा सदस्यद्वय अमृत अर्याल र भीम पराजुली, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, महानगर समितिका सभापति दिपक चापागाई र लेखक गुरुराज घिमिरे लगायतले जनताको विकास र समृद्धिको चाहना पुरा गर्न युवा पुस्ताले आगामी सरकारको नेतृत्व लिनुपर्ने बताउनु भयो ।