बिराटनगर, ६ पुस । विराटनगरका उद्योगी व्यवसायीले चर्को बैंक ब्याजदर र प्रतिकुल बैंकिङ नीतिहरु विरूद्ध आन्दोलनको घोषणा गरेका छन् ।
५० भन्दा बढी उद्योगी व्यवसायिक संस्थाले बैंकको ब्याजदरविरूद्ध बिहीबार विराटनगर बजार बन्द गर्ने देखि नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय बिराटनगरमा धर्ना दिनेसम्मको कार्यक्रम घोषणा गरेका छन् ।
बुधबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी बिहीबार विराटनगर बजार बन्द गर्ने बताएका हुन् । बिहीबार र शुक्रबार बिहान ९.४५ देखि अपराह्न ४.०० बजेसम्म नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना दिने कार्यक्रमको घोषणा गरेका छन् ।
आन्दोलन घोषणा गर्ने मुख्य ठूला संगठन मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ र सीएनआई प्रदेश १ छन् भने अन्य व्यवसायिक संघ संगठन रहेका छन् ।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बिहीबार बजार बन्द गर्नका लागि बुधबार साँझमा सबैलाई जानकारी गराईएको छ । ‘हामी जवरजस्त बन्द गर्नु भन्दैनौं’, उनले भने, हाम्रो आन्दोलनलाई ऐक्कबद्धता जनाउनेलाई सहयोग गर्दिनुस् भन्ने हो, सांकेतिक रुपमा सरकारलाई झक्झक्याउन लागेका हौं ।’
त्यस्तै बिहीबार र शुक्रबार मोरङ व्यापार संघबाट बिहान ९ बजे जुलुस निकालेर राष्ट्र बैंक पुग्ने र त्यहाँको मुख्य प्रवेशद्वारमा धर्ना दिने कार्यक्रम रहेको उनले बताए ।
‘बैंकका कर्मचारीलाई भित्र छिर्न दिन्छौँ तर पैसा बोकेका अन्य बैंक तथा वित्तीय संस्थाका गाडीलाई रोक्छौँ’ उनले भने । २ दिनको कार्यक्रम सकेर समीक्षा बैठक गर्ने र आइतबारदेखि दोस्रो चरणको आन्दोलनमा जाने उनले बताए । अब उद्योगी व्यवसायिको मागको सम्बोधन नगरिएसम्म हामी सडकमै रहने उनले बताए ।
उद्योगी व्यवसायीले ५ सूत्रीय माग राखेका छन् । जसअनुसार चालु पुँजी कर्जा निर्देशिका खारेज गरिनुपर्ने, एकल अंकको बैंक ब्याजदर कायम गरिनुपर्ने, स्प्रेडदर अधिकतम २ प्रतिशत हुनुपर्ने, संस्थागत ब्याजदर २ प्रतिशत निर्धारण गर्नुपर्ने तथा बैंकर र व्यवसायी एकै व्यक्ति हुनुनहुने छन् ।
अध्यक्ष रिजालले बैंकको ब्याजदर विरूद्धको आन्दोलनले आइतबारदेखि देशव्यापी स्वरूप लिने बताए ।
सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले सर्वसाधारण पनि मारमा भएका कारण उनीहरुले पनि आन्दोलनलाई सघाउने विश्वास व्यक्त गरे । बैंकको व्याजदरमा मारमा परेका सबैलाई आन्दोलनमा सहभागि हुन घिमिरेले आग्रहसमेत गरे ।
उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले उद्योग धराशायी भए बैंक पनि डुब्ने बताए । बैंक पनि डुबे भने देश नै डुब्ने बताउँदै राठीले सरकार र राष्ट्र बैंकले समयमै उचित कदम चाल्नु आवश्यक रहेको उल्लेख गरे ।
पत्रकार सम्मेलनमा अन्य व्यवसायिक संगठनहरुले समस्याको समाधान नहुन्जेलसम्म साथ दिईरहने प्रतिवद्धता जनाएका थिए ।